आदर्श गाउँपालिकाले थाल्यो शिक्षा सुधारका लागि ‘विज्ञसँग अन्तरक्रिया अभियान’ 

शैक्षिक सुधार अभियान

मोहन शाही
१७ असार २०८० १४:२२
आदर्श गाउँपालिकाले थाल्यो शिक्षा सुधारका लागि ‘विज्ञसँग अन्तरक्रिया अभियान’ 

(डोटी)– सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न आदर्श गाउँपालिकाले विज्ञसँग उत्प्रेरणामूलक अन्तरक्रिया अभियान चलाएको छ । गाउँपालिका अन्तर्गतका ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग मासिक रुपमा विज्ञलाई आमन्त्रण गरेर विभिन्न प्रेरणामूलक विषयमा अन्तरक्रिया गरिरहेको अध्यक्ष गणेश बहादुर खड्काले बताए । सो अन्तरक्रिया भने भर्चुअल माध्यमबाट नियमितरूपमा गाउँपालिकाले सञ्चालन गर्दै आएको छ । खड्काका अनुसार गाउँपालिकाले बार्षिक रुपमा १२ जना विज्ञको सूची तयार गरी मासिक रुपमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गत जेठ महिनाबाट सुरु भएको छ । आइतबार देशकै नमुना विद्यालय रहेको बुटवलको कालिका माविका पूर्व प्रधानाध्यापक एवम् कालिका क्याम्पस प्रमुख घनश्याम पाठक र गत जेठ महिनामा नेपाल जेसिजका प्रशिक्षक कैलाश खाकी श्रेष्ठले अन्तरक्रियाको सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष खड्काले अन्तरक्रियामा उठेका विषयवस्तुको कार्यान्वयन विद्यालयमा भएनभएको नियमित अनुगमन गर्ने तथा त्रैमासिकमै प्रधानाध्यापकसँग समीक्षा गरिनेसमेत बताए । ‘कार्यान्वयन गर्न नसक्ने प्रअलाई जिम्मेवारी हेरफेर गर्ने सम्म रणनिति छ’, खड्काले भने,‘३,३ महिनामा विद्यालयमा केही परिवर्तन भएको पाइने आशा लिएको छु ।’ 

शर्तमा आधारित रहेर पालिकाबाट विद्यालयलाई प्रोत्साहन स्वरुप अनुदान दिने घोषणा गरेका अध्यक्ष खड्काले शिक्षा क्षेत्रको सुधारका लागि प्रभासँगको भर्चुअल अन्तरक्रियामा आफै पनि सहभागि हुने गरेका छन् । आइतबार करिव डेढ घण्टा चलेको सो अन्तरक्रियामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयको व्यवस्थापन, जिम्मेवारी बाँडफाँड, कार्ययोजना एवम् शैक्षिक क्यालेन्डर निर्माणमा जोड दिन पाठकले सुझाव दिएका थिए । यसबाहेक विद्यार्थीसँग समाजका प्रभुत्व व्यक्ति, समाजसेवी, नागरिक समाज, परम्परा र संस्कृतिका जानकार भएका व्यक्तिहरूसँग विद्यालय सुधारका लागि नियमित छलफल गर्नुपर्ने, निशुल्क शिक्षाका लागि विद्यालय र सरकारले खर्च धान्न सक्ने अवस्था नभएमा विपन्न वर्गका अभिभावकहरूको लागि सम्पन्न एवम् आर्थिक रुपले सक्षम भएका अभिभावकबाट सहायता शुल्क लिन सकिने उपायसमेत सुझाव दिएका थिए । सो अन्तरक्रिया कार्यक्रमबाट प्रधानाध्यापकहरूले समेत नयाँ विषयवस्तुबारे जानकारी पाइएकामा खुसी व्यक्त गरेका छन् । 

भगवती माविका प्रधानाध्यापक टेक बहादुर सिंहले आइतबारको अन्तरक्रियाले आफूलाई नयाँ विषयमा जानकारी मिलेकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरूको विश्लेषण परीक्षाको नतिजा आएपछि मात्र गर्ने हामीकहाँ चलन छ तर पाठक सरले परीक्षा पूर्व नै विद्यार्थीको पढाइ र शारीरिक अवस्थाबारे विश्लेषण गर्नुपर्ने भनेर दिएको सुझाव मलाई घत लाग्यो’, प्रअ सिंहले भने, ‘व्यवस्थापनको सबै काम एक्लै प्रअको काँधमा छाताको आकारमा थोपर्ने चलन हामी कहाँ छ, उहाँले शिक्षकहरुसँगको छलफलबाट विभिन्न उप समिति बनाएर पिल्लरको आकारमा जिम्मेवारी बाँडफाँड गर्दा सहज हुन्छ भन्ने कुराको अनुभव पनि आदानप्रदान गर्नुभयो ।’ सिंहले प्रावि तहका विद्यार्थीहरूको ध्यान र माथिल्लो तहका विद्यार्थीहरुमा जोड दिनुपर्ने सुझाव आफ्ना लागि उपयोगी रहेको बताए । गाउँपालिकाले विज्ञहरूसँग भर्चुअल माध्यमबाट गरिरहेको नियमित अन्तरक्रियाले नयाँ नयाँ कुरा सिक्ने अवसर मिलेको बताए । यद्यपि अन्तरक्रियामा प्रधानाध्यापकहरूको सक्रिय सहभागिता बढाउनु पर्ने सिंहले सुझाव दिए ।  

प्रभात माविका प्रधानाध्यापक पदम साउदले भने विज्ञसंगको अन्तरक्रिया गर्ने अभियान आफैमा सुन्दर भएपनि सहभागिताका हिसाबले समतामूलक हुनुपर्ने सुझाव दिए । उनले अघिल्लो महिना सम्पन्न भएको अन्तरक्रिया सान्दर्भिक रहेको टिप्पणी गरे ।  आइतबार भने प्रावि र मावि तहका प्रधानाध्यापकलाई एकै स्तरको अन्तरक्रियामा सहभागि गराउनु अनुपयुक्त रहेको सुझाव दिदै विषयगत शिक्षकहरूलाई सहभागिता राखेर सम्बन्धी विषयको विज्ञसँग अन्तरक्रिया गराउँदा बढी सान्दर्भिक हुने बताए । 

गिरीचौका माविका प्रधानाध्यापक नर बहादुर खडायतले विज्ञसँगको अन्तरक्रिया फलदायी रहेको बताए । यद्यपि उनले अन्तरक्रियामा उठेका सबै विषयवस्तु कार्यान्वयन गर्न भने चुनौती रहनेमा आशंका व्यक्त गरे । छलफलमा सहभागि एक्लै प्रधानाध्यापकले बुझेर मात्र कार्यान्वयनमा लैजान सम्भव छैन’, प्रअ खडायतले भने, ‘शिक्षक, विद्यार्थी, अभिभावक सबैको ऐक्यवद्धता चाहिन्छ तसर्थ सो प्रकारको अन्तरक्रिया स्थानीयस्तरमा पनि आवश्यक छ ।’

प्रतिक्रिया

2 thoughts on “आदर्श गाउँपालिकाले थाल्यो शिक्षा सुधारका लागि ‘विज्ञसँग अन्तरक्रिया अभियान’ 

  1. अन्य सरहरुलाई हेर्नू भन्दा प्रसासन र व्यवस्थापन।लाई नजर लगाउन जरुरी लाग्छ।हामिलाई।

  2. यो पत्रीकाको पत्रकार ज्यु तपाईंले कसरी कुन कुन Headteacher सोध्नु भा ho ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *