जब मेयरलेनै तरकारी र फलफूल सडकमै फ्यादिएपछि

पाँजलो न्युज
९ वैशाख २०८० १५:४१
जब मेयरलेनै तरकारी र फलफूल सडकमै फ्यादिएपछि

अछाम — महोत्तरीका ५८ वर्षीय भोला चौधरी ३२ वर्षदेखि सुदूरपश्चिममा व्यापार व्यवसाय गर्दै आएका छन् । १० वर्ष डोटीमा ब्यापार गरेका भोला २२ वर्षदेखि अछामको सदरमुकाम मंगलसेनमा छन् ।

भोलाले मंगलसेनको बीच बजारमा तरकारी र किराना पसल चलाउँदै आएका छन् । उनकै पसलको बाहिर राखिएको तरकारी र फलफूल मंगलसेन नगरपालिकाका मेयर पदम बोहराले शुक्रबार एकाएक सडकमा फ्याँकेपछि अहिले सामाजिक संजाल तातेको छ ।

मंगलसेन नगरपालिकामा दोस्रो पटक पनि निर्वाचित भएका मेयर बोहराले फलफूल र तरकारी सडकमा फ्याँकेपछि विरोध भइरहेको छ । मंगलसेन नगरपालिकाले तरकारी, फलफूल र मासु पसल संचालनका लागि छुट्टै स्थान तोकेको र पटकपटक अटेर गरेपछि बाध्य भएर सामान नै सडकमा फाल्नुपर्ने अवस्था आएको मेयर बोहराले बताए ।

‘बजारमा तरकारी व्यवसाय गर्दै आएका सबै व्यापारी नगरपालिकाले संचालन गर्दै आएको ठाउँमा गएका छन् । भोलाजीले पटकपटक नगरपालिकाको निर्णय अटेर गरे । नियम सबैका लागि बराबर हुन्छ , उनको सामान यसअघि ५ पटक जफत गरेका हौं, पटकपटक चिठी पठाउँदा पनि मानेनन्,’ बोहराले भने ,‘घरेलु तथा साना उद्योग कार्यालयले पनि नियम मिचेको भन्दै १० हजार जरिवाना गराएको थियो ।’

शुक्रबार मंगलसेन नगरपालिका ४ का अध्यक्ष नाम सिंह धामी र आफूसँगै भएको बेला तरकारी बजारमा जान सुझाएको बेला चौधरीले तथानाम गाली गरेको मेयर बोहरा बताउँछन् ।

‘भोलालाई सम्झाउँदै गर्दा एकाएक तथानाम गाली गरे । त्यसपछि त्यो सामान रिसले नै फालेको हुँ,’ उनले भने ,‘पहिले पनि म नगर प्रमुख भएको बेला धेरै पटक सम्झाएको हुँ । यहाँ काम गर्न कठिन छ । मंगलसेन बजारलाई व्यवस्थित बनाउन लागेको हौं । कोही पनि सहयोग गर्दैनन् ।’

पहिलो कार्यकालमा नगर प्रहरी भर्ना गर्नका लागि आवेदन दिए पनि अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको उनी बताउँछन् । ‘ब्यापारी अटेर गर्ने भए । अब तत्काल नगर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

व्यवसायी भोला चौधरीले भने ७७ हजार बराबरको तरकारी र फलफूल मेयरले सडकमा फ्याँकेको बताएका छन् । तर अरु व्यवसायीको फलफूल तथा सामान भने मेयरले केही नगरेको भन्दै आफूमाथि पूर्वाग्रह राखेको उनको गुनासो छ ।

‘यहाँ म मात्रै यसरी ब्यापार गरिहेको होइन, अरु पनि छन् तर पूर्वाग्रही ढंगले मेयर पदम बोहराले मेरो सामान सडकमा मिल्काए,’ उनले भने ,‘ मैले कसैलाई तथानाम गाली गरेको छैन । यो सबै आरोप मात्रै हो ।’

आफू अन्य व्यापारी जस्तै मण्डी जान तयार भएको तर नगरपालिकाले मण्डी व्यवस्थापन नगरेको उनले गुनासो गरे । ‘मण्डीमा भाडा मात्रै महंगो छ । अन्य सेवा सुविधा केही छैन । नगरपालिकाले मलाई मात्रै दोषी देख्यो । मेरो सामान सडकमा फालियो । मलाई कुनै मौका नदिएर ममाथि अन्याय गरे,’ उनले भने , ‘नियम सबैलाई लागू हुनु पर्ने हो । तर मलाई मात्रै किन यसो गरियो बुझ्न सकेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *