कञ्चनपुर। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु भएको छ। उपकरणहरू जडान भएको लामो समयपछि शुक्रबारदेखि उक्त सेवा सुरु भएको हो।
स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेपछि डायलसिस सेवा सुरु भएको अस्पतालले जनाएको छ। शुक्रबार पहिलो दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीका नन्दराज जोशीले सेवा लिए। तीन वर्षदेखि मिर्गौला बिरामी उनी कैलालीको धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका थिए।
महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि जोशी निकै खुसी छन्। धनगढी आउने जाने झन्झट र पालो कुर्नुपर्ने बाध्यता लगायतले निकै सास्ती पाउने उनलाई अब भने केही सहज हुने अपेक्षा छ।
डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए।
स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने उनले बताए।
‘अहिले अस्पतालका तर्फबाट सेवा दिइरहेका छौं, निःशुल्क सेवाका लागि विभागमा सूचीकृत हुनुपर्छ,’ डा. भट्टले भने, ‘सूचीकृत भएपछि पूर्ण रूपमा सेवा सुरु हुनेछ।’ उनका अनुसार सूचीकृत भएपछि दैनिक ५ जनालाई सेवा दिन सकिन्छ। एक पटक डायलसिस गर्न कम्तीमा ४ घण्टा समय लाग्छ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डा. खगेश्वर गेलालले डायलसिस सेवाका लागि जडान गरिएको उपकरण लगायत भौतिक अवस्थाको अनुगमन गरेका थिए। श्रेष्ठ र गेलालकै उपस्थितिमा शुक्रबार एक जनाको डायलसिस पनि गरिएको हो।
डायलसिस सेवाका लागि एक वर्षअघि उपकरण ल्याइएको थियो। जडान गरेको पनि झन्डै ६ महिना पुग्यो। डाक्टर भर्नादेखि जनशक्तिलाई तालिम दिने काम यसअघि भइसकेको थियो।
विभागको टोलीले अनुगमन नगरेका कारण सेवा शुरु हुन सकेको थिएन। ‘अहिले अस्पतालकै खर्चमा सेवा दिइरहेका छौं, सूचीकृत भएपछि विभागले खर्च व्यहोर्नेछ,’ महाकाली प्रदेशिक अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले भने, ‘त्यतिबेलासम्म दैनिक २ जनालाई सेवा दिनेछौं।’
पहिलो दिन एक जनालाई मात्रै सेवा दिइए पनि आइतबारदेखि दुई जनालाई बोलाइएको उनले बताए। अहिले यहाँका मिर्गौला रोगीहरू डायलसिसका लागि धनगढी वा सीमावर्ती भारतीय बजारतर्फ जानुपर्ने बाध्यता छ।
अहिले डायलसिस गराउनेको संख्या ४० भन्दा बढी छ। सेती प्रादेशिक अस्पतालमा डायलसिसका लागि भीड लाग्ने गरेका कारण पालो पाउनै मुस्किल हुने गरेको बिरामीहरू बताउँछन।(साभार ः सिमारेखा अनलाइन)
प्रतिक्रिया