शिखरमा दुना टपरी तालिम

पाँजलो न्युज
२७ फागुन २०७९ १४:३१
शिखरमा दुना टपरी तालिम

दिपायल– पुजापाठ, भोजभतेर तथा विभिन्न कर्मकाण्डमा अनिवार्य चाहिने दुना टपरीको प्रयोग बजारमा भित्रिएका भाडाकँुडाका कारण बिस्थापीत बन्दै गएका थिए । तर पछिल्लो समय दैनिक जीवनमा समेत प्रयोग हुन थालेपछि दुना टपरीको माग बढ्दै गएको छ । ग्रामिण क्षेत्रका महिलाहरु पराम्परागत रुपमा दुना टपरी लगाउने भएपनि व्यावसायिक रुपमा भने अघि बढेका छैनन् ।
तर ग्रामीण भेगका महिलाहरुलाई व्यवसायिक बनाउने लक्ष सहित शिखर नगरपालिका–३ आलीमा एक हप्ते तालिमको आयाजना गरिएको छ ।


शिखर नगरपालिकाको सहयोगमा द्वारिकादेवी ठकुरानी ट्रष्ट र सीताराम तेज स्मृति प्रतिष्ठानको आयोजनामा तालिम सुरु गरिएको हो । तालिमको उद्घाटन गर्देै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्य सहित नगरपालिका भित्र विभिन्न सिपमुलक कार्यक्रमहरु अघि सारेको बताए । पछिल्लो समय प्लाष्टिकको प्रयोग बन्द गरिदै आएको छ, यस्तो अवस्थामा दुना टपरीको माग पनि बढ्दै गएको छ, “उनले भने,“बजार पनि राम्रो छ । यहाँका दिदीबहिनीहरुले सिप सिकेर व्यवसायिक रुपमा काम गर्ने इच्छा राख्नुभयो भने नगरले सक्दो सहयोग गर्ने छ ।”


तालिम पश्चात महिलाहरु व्यवसायिक बनुन् र आफ्नो घरखर्च चलाउन सकुन् भन्ने उद्येश्यले तालिमको आयोजना गरिएको द्वारिकादेवी ठकुरानी ट्रष्टकी अध्यक्ष प्रतिमा शाहीले बताइन् । दक्ष तालिमप्राप्त दुना टपरी व्यवसायीलाई प्रशिक्षकका रुपमा ल्याएर दुना टपरी बनाउने मसिन सहित तालिम दिन लागेको उनले बताइन् ।
नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष सहित विभिन्न किसिमका सिपमुलक तालिमहरुको आयोजना गर्दै आएको नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् । सालका पातहरु पाउने अन्य वडाहरुमा पनि तालिमलाई विस्तार गरिने उनले बताइन् । हाल नगरपालिकाले सिलाइकटाइ, पोते बुन्ने, टपरी बनाउने तालिम सञ्चालन गर्दै आएको रावलले बताइन् ।
तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सानीडाँडा फुलबारी दुना टपरी उद्योग कैललीकी सञ्चालक भावना मगर प्रशिक्षकका रुपमा छन् । तालिम एकसातासम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *