ओली मेरो पुरानो साथी हुनुहुन्छ, उहाँको पनि सहयोग पाउँछु : रामचन्द्र पौडेल

पाँजलो न्युज
१३ फागुन २०७९ १०:२२
ओली मेरो पुरानो साथी हुनुहुन्छ, उहाँको पनि सहयोग पाउँछु : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेको पनि सहयोग लिएर सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार मनोनयन पत्र दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफूसँगै जेल बसेको स्मरण गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली पनि मैसँग जेलमा बस्नु भएको हो । लामो समयदेखिको साथी हो । राष्ट्रपति सबैको साझा पद हो । यसमा मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको छ,पौडेलले भने ।

उनले सर्वसम्मत राष्ट्रपति हुनका लागि आफूले प्रयास गरेको पनि बताएका छन् । रवि लामिछानेसँग पनि सकारात्मक छलफल भएको छ,पौडेलले भने । शुक्रबार साँझ बालुवाटारमा भएको बैठकबाट पौडेलको उम्मेदवारीलाई ८ राजनीतिक दलले समर्थन गर्ने जनाएका छन् ।

एमालेले भने उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेलले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी गणतन्त्र संस्थागत गर्नका लागि भएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धी रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालको संविधान २०७२ को अक्षरशः पालना गर्ने, संविधानको रक्षा गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिले चुनौती छ, उनले भने, नेपाली जनताको हातमा आएको सर्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ । नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्दै नेपालको उन्नतिका लागि अघि बढ्ने र नेपालको राष्ट्रिय एकता र अखण्डतालाई जोगाउने काममा मेरो सहयोग हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *