डाेटी । पुरातात्त्विक महत्त्वका स्थानले इतिहास बोकेका हुन्छन् । तर, वीरतापूर्ण इतिहास बोकेका पुरातात्त्विक महत्त्वका डोटीका दरबारहरू भने यतिबेला संरक्षणको पर्खाइमा छन् । पर्यटक आकर्षित गर्न सक्ने ती दरबारहरूको संरक्षणमा भने सरकारको ध्यान पुग्न सकेको देखिँदैन ।
केही दरबार भने भग्नावशेषमा परिणत भइसकेका छन् । प्राचीनकालमा राजारजौटा तथा राणा शासकले सुदूरपश्चिमका दर्जनौं ठाउँमा दरबार बनाउन लगाएका थिए । त्यसताकाको शक्तिशाली डोटी राज्य सञ्चालनका क्रममा आकर्षक कलाकौशल, सीपले बनेका यी दरबारहरू भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने ठान्छन्, डोटेली संस्कृतिका अध्येता हेमबाबु लेखक ।
सुदूरका पहाडी जिल्लाहरूमा धेरै ठाउँमा यस्ता प्राचीन दरबार रहेको इतिहास छ । डोटीमा भैरवकोट दरबार, निरौली दरबार, धुरकोट दरबार तथा सिलगढी चाचन्थलीस्थित राणा दरबारमध्ये केही खण्डहर भइसकेका छन् । दरबारहरूको जिल्ला भनेर चिनिने बझाङमा हात्तीसार व्यासीकोट, तलकोट दरबार अस्तित्वमा रहे पनि मेल्लेख, डुम्राकोट, साउनाकोट, घोडकोट, पातलकोटलगायत दुई दर्जन दरबारहरूको भग्नावशेष मात्र छ । डडेलधुराको अजयमेरुकोट दरबार, कैलालीको गर्भा दरबार, अछामको बिमकोट दरबार प्रयोगविहीन हुँदा खण्डहर बनेका छन् । अछामको मंगलसेन दरबारको भने लामो समयदेखि पुनर्निर्माण भइरहेको छ ।
अजयमेरुकोट
डोटेली संस्कृति र इतिहासको मूलथलोका रूपमा चिनिने अजयमेरुकोट डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटकोट गाउँमा पर्छ । बाइसे राज्यकालीन डोटीको राजधानी अजयमेरुकोटमा प्राचीन कलाबाट दरबार, देवल, पानीका न्वाला, तबेला, बैठक कक्ष, पोखरी आदि बनेका छन् । यहाँ वास्तुकलाको आकर्षक नमुना थिए । करिब आठ सय वर्षअघि डोटेली राजाले ग्रीष्मकालमा बस्ने ठाउँका रूपमा यो दरबारबाट शासन चलाएको इतिहासमा छ ।
अजमेरुकोटको मुख्य दरबार भएको डाँडालाई सर्पले बेरेजस्तै गरी गाड नदीले घेरेको छ । दरबारको संरचना सबै भत्केको अवस्थामा छ । इतिहासअनुसार सुरुमा मुख्य दरबार सात तलाको थियो । त्यस वरपर भाइभारदारका लागि निर्मित हवेलीहरू थिए । ती पनि भग्नावशेष भइसकेका छन् । छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । दरबारको पूर्व–दक्षिणबाट रानीलाई पानी भर्न र नुहाउनका लागि नदीसम्म जाने भूमिगत बाटो ढुंगाले चिनेर बनाइएको थियो, जहाँ कोटदेखि नदीसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सिँढी छन् ।
कोटस्थलदेखि तल गाड नदीको किनारमा बैठकस्थल छ । गाडको केहीमाथि दुईवटा आकर्षक देवल छन् । नजिकैको करपुटार खेतको सिरानमा पानी खाने तीनवटा प्राचीन नाउलाहरू छन् । अजयमेरुकोट निर्माणका विषयमा विभिन्न तर्क छन् । एकथरीका भनाइमा कत्युरी राजवंशका राजा अजयपालदेवले ११ औं शताब्दीको सुरुवाततिर यसलाई बनाएका हुन् । अजयपाल राजाको नामबाट नै अजयमेरुकोटको नामकरण भएको हो । अजयमेरुकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३ औं शताब्दीमा गरेको उल्लेख गर्छन् । कसै–कसैले अजयमेरुकोटको स्थापना १३औं शताब्दीको उत्तरार्द्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले १४१९ भन्दा पहिले नै सिँजा राज्यसँग लडाइँ जितेर कोटको स्थापना गरेको मान्छन् ।
यस कोटलाई केहीले राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । तर, वास्तवमा यो कोट कत्युरी वंशजका पाल राजाहरूले नै निर्माण गरेको प्रमाणहरू भेटिन्छन् । रैका राजवंशका नागी मल्लले १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिन गएको हो । यो ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।
भैरवकोट
डोटीमा रहेका दरबारमध्ये मुख्य हो, दिपायल सिलगढी नगरपालिका–२ को गनैर गौडाडाँडामा रहेको भैरवकोट राजदरबार । शक्तिशाली मानिएको डोटी राज्यलाई तत्कालीन राजाले करिब ४ सय वर्ष यही दरबारबाट शासन चलाएका थिए । राजा कल्याण मल्लले भैरवकोट दरबार बनाएका हुन् । तत्कालीन डोटेली राजाले गर्मीयाममा डडेलधुराको अजयमेरुकोट तथा हिउँदमा भैरवकोट दरबारबाट राजकाज चलाउने गर्दथे ।
नेपाल एकीकरणको अभियानसँगै १८४७ भदौ ३१ मा गोर्खाली सेनासँग पराजित भएपछि डोटी राजा दरबार छोडेर सिंगाही गएका थिए । त्यसयता दरबार प्रयोगविहीन हुँदा दरबारको भुइँतलाको भागमात्र अवशेषका रूपमा छ । कोटदेखि नदीसम्म रानीले स्नानका लागि जाने भूमिगत बाटो अहिले पुरिइसकेको छ भने दरबारमा प्रयोग भएका आकर्षक ढुंगाहरू चोरी भइसकेका छन् । कोटसम्म जानका लागि दिपायल सिलगढी नगरपालिकाले निर्माण गरेको सिँढी र रेलिङ भत्किइसकेका छन् । लामा ढुंगा र तोरीको पिना प्रयोग गरेर दरबार निर्माण गरिएको थियो ।
निरौली दरबार
डोटीकै जोरायल गाउँपालिका–६ निरौलीमा रहेको निरौली दरबार उचित संरक्षण तथा संवर्द्धनको अभावमा अस्तित्व संकटको अवस्थामा छ । १४३९ मा तत्कालीन डोटेली राजा निरैपालले दरबार बनाएको इतिहास छ । निरैपालको नामबाट पछि यो ठाउँलाई पनि निरौली भन्न थालिएको जोरायल–५ गड्सेराका स्थानीय ध्वज देउवाले बताए । दरबार ढलेर अहिले भुइँतलाको केही भाग मात्र बाँकी छ । यो क्षेत्रमा तत्कालीन मल्ल राजाले प्रयोग गर्ने मगराउ ९कुवा० पनि जीर्ण बन्दै गएको छ ।
सिलगढीको मल्लो ढोका
डोटीको दिपायल सिलगढी–६ नाचन्थलीमा रहेको राणाकालीन यो दरबार पनि खण्डहर बनेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको हो । हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई राणा कालमा ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासका रूपमा प्रयोग हुने गर्थ्यो । करिब ४० कोठा रहेको मल्लो ढोका वरिपरि बनाइएका कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजाघर पनि भत्किन थालेका छन् । बहादुरशमशेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीयलाई बिक्री गरिएको थियो । यसलाई बहादुरशमशेरले १९९० को दशकमा निर्माण गरेका थिए ।
व्यासीकोट
१५०२ सालतिर बझाङी राजा शक्ति सिंहले व्यासीकोट दरबार निर्माण गर्न लगाएका थिए । राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङको राजधानी स्थापना गरी उक्त कोटबाट शासन गरेको अभिलेखहरूमा पाइन्छन् ।
१९९५ मा उनको मृत्युपछि १९९६ मा जेठा पुत्र रामजंगबहादुर सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत राखेर राज्य चलाएका थिए । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले समेत केही समय यही दरबारबाट राज्य सञ्चालन गरेका थिए ।
उक्त दरबारमा बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्त्विक र ऐतिहासिक सामग्री छन् । बझाङमै निर्मित इँटाले बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेकोमा १९९० को भूकम्पले क्षति पुर्याएपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठे बनाएका थिए । २०२३ मा पुनः भूकम्पले हल्लाएपछि उक्त दरबारका केही भित्ता चर्किएका थिए । व्यासी गाउँको चौधानपाटा नजिकैको कोटडाँडामा रहेको उक्त दरबार बझाङको नामकरणसँग पनि जोडिएको छ । दरबार रहेको डाँडामा बेलाबेला चट्याङ परिरहने भएकाले यस ठाउँलाई बज्रांग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारको दाबी छ । हालको छबिसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मालगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाको दृश्यसमेत यो दरबारबाट देखिन्छ ।
भोपुर दरबार
बझाङको चैनपुरनजिकै भोपुर गाउँमा रहेको अर्को दरबार हो भोपुर । तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहले पाँच वर्ष लगाएर १९९५ मा तयार पारेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा थियो । ईश्वरजंगको अपुतालीपछि उनका आफन्तहरूले २०४० सालतिर नेपाल सरकारलाई बिक्री गरेपछि यो दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो । मानिस बस्न छोडेपछि दरबारको भित्र रहेका कोठा, खोपी र बैठक कक्षको छानामा रहेका काठ खसिसकेको छ । ग्यालरी र बरन्डामा ठुल्ठूला भ्वाङ परेका छन् । भित्ताहरू खुइलिएर दरबारको स्वरूप नै बिग्रँदो अवस्थामा पुगेको छ भने झ्यालका काठहरू पनि कुहिन लागेका छन् । १९९० को भूकम्पबाट त्रसित भई राजा देवीजंगले भारतको कोलकाताबाट इन्जिनियर र मिस्त्रीहरू ल्याई यो भवनको निर्माण गर्न लगाएको बझाङी राजाको इतिहासको लामो अध्ययन गरेका पूर्वप्राध्यापक विष्णुभक्त शास्त्रीले बताए । ‘भूकम्पबाट डराएका राजाले यो भवन निकै बलियो हुने गरी निर्माण गर्न लगाएको देखिन्छ,’ उनले भने, ‘जग मात्र एउटा बाँस डुब्ने गरी खन्न लगाएको भन्ने विभिन्न स्रोतबाट पुष्टि भएको छ ।’ भवन निर्माणका क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग गरिएको उनले बताए ।
मंगलसेन दरबार
मंगलसेन दरबार अछाम जिल्लाको पर्यटकीयस्थल तथा ऐतिहासिक धरोहर हो । माओवादीले २०५८ फागुन ४ को रात अछाम सदरमुकाम मंगलसेनमा भीषण आक्रमण गर्दा यो दरबार ध्वस्त भयो । मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको थियो ।
१८०० मा उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट नेपाल सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको ऐतिहासिक सम्पदाका रूपमा लिइन्छ ।
बिमकोट दरबार
अछामको बिमकोटमा रहेको राजाको दरबार संरक्षणको अभावमा जीर्ण भन्दै गएको छ । नेपाल एकीकरणताका बाइसे, चौबिसे राज्यमध्येको एक बिमकोटे राजाको उक्त दरबारबाट द्वन्द्वकालमा माओवादीले सरसामान लुटेर लगेपछि खाली छ । द्वन्द्वकालदेखि नै सबै काठमाडौं, धनगढीलगायत ठाउँमा बसाइ गएपछि दरबार रितो भएको छ । पञ्चायतकालमा कृषि तथा फलफूल सहायक मन्त्री बनेका जनक शाहको परिवार दरबार छोडेर काठमाडौं बसाइँ सरेपछि दरबार रित्तो हुँदा दिनप्रतिदिन जीर्ण बन्दै गएको हो ।
गर्भा दरबार
कैलालीको चुरे गाउँपालिका खैरालामा रहेको गर्भा दरबार १९८४ सालमा खडकशमशेर जबराले निर्माण गरेका हुन् । राणा शासनकालमा निकै चहलपहल रहने गरेको गर्भा दरबारमा २०३२ पछि भने सुनसान छ । उक्त दरबार खडकशमशेरका साइँला नाति तेजप्रकाशको भागमा परेको छ ।
दरबारका ऐतिहासिक संरचना संरक्षणको अभावमा नासिँदै जाँदा खण्डहरमा परिणत हुँदै गएको छ । दरबारमा पछि लगाइएको टिनको छाना हावाहुरीले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किएको छ । कलाकृति जडित भित्ताहरू २०५५ देखि भत्किन सुरु भएको स्थानीय प्रकाश गुरुङले बताए । मासबाट बनाइएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।
१० रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भुँइतल्लामा सुरुङसमेत बनाइएकोमा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।
उकु महल
दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महल भग्नावशेषमा परिणत भएको छ । यो महल कसले र कहिले बनाएको हो भन्ने स्पष्ट जानकारी कसैसँग छैन । महल वरपर अलपत्र रहेका शिलालेख, कोटघर, देवस्थल, दरबारको मजबुत किल्लाहरू, विभिन्न आकृतिका ढुंगा, मूर्ति र चट्टानको अहिलेसम्म कसैले खोज, अध्ययन तथा उत्खनन गरेका छैनन् । मूर्तिहरू चोरी हुने, शिलालेखसमेत केरमेट हुने अवस्था आएको छ । यो क्षेत्रमा शिलालेख लेखिएका ढुंगाहरू स्थानीयस्तरमा पाइनेभन्दा निकै फरक छन् । महल क्षेत्रको चारैतिर तारजाली लगाए पनि सुरक्षित भने छैन । यहाँका स्थानीयले महलको ढुंगा घरमा लैजाने गरेका छन् ।
रजबार भारती पालले उक्त क्षेत्रमा दरबार बनाएर बसेको स्थानीय समाजसेवी वासुदेव पन्त बताउँछन् । १४ देखि १६ औं शताब्दीको अवधिमा उकु भग्नावशेष क्षेत्रमा दरबार र मन्दिर बनाइएको मानिन्छ ।
साभार (कान्तिपुर दैनिकवाट )
प्रतिक्रिया