फाप्ला क्रिकेट रंगशालाको दोस्रो पटक डीपीआर बन्दै, दुई अर्व बजेट प्रस्ताव

पाँजलो न्युज
२२ कार्तिक २०७९ ७:२८
फाप्ला क्रिकेट रंगशालाको दोस्रो पटक डीपीआर बन्दै, दुई अर्व बजेट प्रस्ताव

धनगढीमा बहुउद्देश्यी खेल पूर्वाधार निर्माणका लागि संघीय सरकारको मन्त्रीपरिषद् बैठकले साढे ३८ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो। फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामका लागि जमिन दिइएको हो।

पूर्वाधार निर्माणका लागि विकास समिति समेत गठन भइसकेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामलाई राष्ट्रिय प्राथमिकताप्राप्त योजनामा समावेश गर्दै आवश्यक जमिनसहित योजना कार्यान्वयनका लागि उच्चस्तरीय विकास समिति गठन गरिएको हो।

चालु आर्थिक वर्षभित्रै फाप्लाको डीपीआर निर्माणलगायतका काम गर्न काठमाडौँको सिंहदरभित्र सम्पर्क कार्यालय स्थापना गरिसकिएको हो। कार्यालय सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि एक करोड बजेटसमेत विनियोजन गरिएको समितिका अध्यक्ष सुवाश शाहीले बताए।

तर डीपीआरका लागि बजेट विनियोजन गरिएको छैन्। आन्तरिक कामलाई तीव्रता दिन धनगढीमा पनि कार्यालय स्थापना गर्ने तयारी भइरहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष शाहीले बताए। ‘संघीय सरकारको मन्त्रीपरिषद बैठकले गत माघ १० गते साढे ३८ विघा जमिन दिने निर्णयले हामी निकै उत्साहित भएका छौ।

अहिले फिल्डमा देख्न सकिने काम नभएपनि आन्तरिक रुपमा धेरै कामहरु भइरहेका छन्। चालु आर्थिक वर्षभित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण भइसक्ने गरी काम भाइरहेको छ,’ शाहीले भने। फाप्लाको द्रोस्रो पटक डीपीआर गर्न लागिएको हो।

चालु आर्थिक वर्षमा संघ सरकारले कार्यालय व्यवस्थापन र कर्मचारीका लागि मात्र बजेट विनियोजन गरेको छ। अहिले तीन तहकै सरकारको प्रतिनिधित्व रहने गरी समिति गठन भएको छ। यसका लागि कार्यकारी पनि तोकिसकिएको छ। यसमा प्रदेश सरकारले लगानी गर्ने विषय नभएकाले संघीय सरकारले २ अर्व बजेट छुट्याउने प्रस्ताव गरिएको छ।

स्थानीय, प्रदेश र संघ सरकारको प्रतिनिधित्व रहने गरी समिति बनेको छ तर खेल पूर्वाधारका लागि प्रस्ताव गरेअनुसारको बजेट विनियोजन नभएकाले बाँकी प्रक्रिया अघि बढ्न नसकेको सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले बताए।

उनले भने, ‘प्रदेश सरकारले यसमा लगानी गर्ने विषय होइन, संघ सरकारबाटै समिति बनेकाले बजेट पनि उत्तैबाट विनियोजन हुने हो।’ फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष शाहीले ११ वर्षअघि ड्रिम फाप्ला अभियान सुरु गरेका थिए। विकास समितिले फाप्लामा बहुउद्देश्यीय खेल पूर्वाधार निर्माणपछि सञ्चालनको मोडेल प्रस्ताव गर्ने छ। फाप्ला अन्तर्राष्टिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि लगानी बोर्डले समेत प्रक्रिया अघि बढाएको छ। ग्लोबल टेण्डर नै गरेर खेल पूर्वाधारलाई अघि बढाइने योजना विकास समितिको रहेको अध्यक्ष शाहीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *