विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन?

जुना श्रेष्ठ
२ असोज २०७९ ३:१२
विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन?

असोज २ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनहरूलाई भने ‘ह्वाइट लिस्ट’ मा राखिसकेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई दर्ता गरिराख्नु पर्दैन। दर्ता भएकोबारे प्राधिकरणले मोबाइलमा सूचना पनि पठाइरहेको छ।

आजदेखि भने नेपाल भित्रिने सबै फोन एमडिएमएस प्रणालीमा दर्ता गर्नुपर्छ। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।

यो नियम आजबाट लागू भएको हो। हिजोसम्म किनिएका र भएका सबै फोनको दर्ता भइसकेको हुन्छ।

अब आजदेखि विदेशबाट आउँदा चलाइरहेको मोबाइल ल्याउँदा चाहिँ के हुन्छ?

विदेशबाट नेपाल आएका वा आउने व्यक्तिले चलाइरहेको फोन नेपालमा ल्याउँदा त्यस्ता फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुँदैन।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अब यस्ता मोबाइल पनि दर्ता गर्नुपर्छ। यसका लागि मोबाइल ल्याउने वा चलाउने व्यक्ति आफैंले दर्ता गर्न सक्छन्। दर्ता गर्न कहीँ जानु पर्दैन। प्राधिकरणको वेबसाइटमार्फत गर्न सकिन्छ।

‘विदेशमा प्रयोग गरिरहेका मोबाइल नेपाल फर्किँदा सँगै ल्याउन पाउने व्यवस्था छ। तर ती फोनको आइएमइआई नम्बर प्राधिकरणमा व्यक्ति आफैंले अनलाइनमार्फत दर्ता गर्नुपर्ने हुन्छ,’ अध्यक्ष खनालले भने, ‘उपहारका रूपमा वा कसैले ल्याइदिएका फोनलाई पनि वेबसाइटमार्फत दर्ता गर्न सकिन्छ।’

अब विदेशबाट नयाँ फोन ल्याउँदा के हुन्छ?

हाल भन्सार विभागको व्यवस्थाअनुसार विदेशबाट आउँदा एक जनाले एउटा फोन सँगै ल्याउन मिल्छ। विदेशबाट कसैले मोबाइल पठाउँछ भने त्यस्ता फोनको भन्सार शुल्क तिर्नुपर्छ। भन्सार शुल्क तिर्नेबित्तिकै फोनको आइएमइआई प्राधिकरणमा दर्ता हुन्छ र उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ।

हाल मोबाइल आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तः शुल्क बुझाउनुपर्ने व्यवस्था छ। व्यक्तिले सोही बराबर रकम भन्सारलाई मोबाइल लिनु अघि तिर्नुपर्छ। त्यसैले यसरी ल्याएका मोबाइलमा समस्या भएन।

दर्ता कहाँ र कसरी गर्ने?

प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर फोनको आइएमइआई दर्ता गर्न मिल्छ। दर्ता गर्नका लागि व्यक्तिको नाम, आइएमइआई, मोबाइलको ब्रान्ड, मोडल नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल आइडी र नागरिकता, पासपोर्ट वा व्यैक्तिक पहिचान खुल्ने परिचय पत्रको नम्बर भरेर यसको फोटो समेत अपलोड गर्नुपर्छ।

अध्यक्ष खनालका अनुसार यस्ता फोनको आइएमइआई दर्ता गर्न मोबाइल विदेशबाट पठाएको वा सँगै ल्याएको भन्ने प्रमाण गर्ने कागजातको फोटो अपलोड गर्नुपर्ने हुन्छ।

दर्ता भएपछि उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ। आवेदन स्वीकृत भए फोन ब्लक हुँदैन। एकपटक दर्ता भएको व्यक्तिको सम्पूर्ण विवरण यसमा हुन्छ। त्यसैले एउटै व्यक्तिले धेरै फोन दर्ता गर्दा वा गर्न खोजेमा प्राधिकरणले जाँच गरिरहेको हुन्छ। त्यसैले सबै दर्ताका लागि गरिएको आवेदन स्वीकृत हुन्छ भन्ने हुँदैन।

आइएमइआई नम्बर भनेको के हो? यो कसरी पत्ता लगाउने?

सिम प्रयोग हुने हरेक उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ। यो नम्बर एकअर्कासँग मिल्दैन। मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

अथवा आफ्नो मोबाइल सेटको सेटिङ्सको ‘अबाउट’ मा गएर आइएमइआई नम्बर पाउन सकिन्छ।

वैध रूपमा भित्रिएका सबै फोन बजार पुग्नुअगावै तिनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता भएको हुन्छ।

प्राधिकरणमा मोबाइल दर्ता गर्दा शुल्क लाग्छ कि लाग्दैन?

व्यक्ति आफैंले फोन दर्ता गर्न चाहेको खण्डमा कुनै शुल्क नलाग्ने अध्यक्ष खनालले जानकारी दिए।

उनले भने, ‘हामी अनलाइनमार्फत विवरण पूरा भए निःशुल्क दर्ता फारम स्वीकृत गर्छौं।’

के नेपाल आउने पर्यटकले पनि फोन दर्ता गर्नुपर्छ?

अध्यक्ष खनालका अनुसार केही समयका लागि नेपाल घुम्न वा काम परेर आउनेले पनि नेपाली सिममा फोन चलाउन परे दर्ता गर्नुपर्छ।

‘नेपालको सिम प्रयोग गर्न चाहेको खण्डमा सेटमा सिम प्रयोग भएलगत्तै फोन दर्ता गर्न एसएमएसमार्फत मेसेज पठाइन्छ,’ उनले भने।

यस्ता पर्यटकले भ्रमणको अवधि खुलाएर पासपोर्ट र भिसाको फोटो अपलोड गरी प्राधिकरणको वेबसाइटमा भएको फारम भर्न सकिन्छ। उक्त फारम जाँच गरी प्राधिकरणले फोनलाई एमडिएमएस प्रणालीमा अस्थायी रूपमा दर्ता गरिदिन्छ।

अस्थायी रूपमा दर्ता भएका मोबाइल सेटहरू ह्वाइट-लिस्टमै हुन्छन्। अवधि सकेपछि सूचीबाट सेटको विवरण आफैं हट्छ। कुनै व्यक्ति तोकिएको अवधिभन्दा बढी समय नेपाल बस्छ भने त्यस्तो खण्डमा पुनः अवधि तोकेर दर्ता गर्नुपर्छ।

‘तोकिएको अवधिभन्दा अगावै कोही विदेश फर्किन्छन् भने पनि समस्या हुँदैन। हाम्रो प्रणालीबाट अवधि सकेपछि विवरण आफैं हट्छ। विदेश पुगेपछि त्यो फोन त्यसै चलिहाल्छ। कुनै समस्या हुँदैन,’ अध्यक्ष खनालले भने।

आइएमइआई नम्बर आफूले नराखेको भए प्राधिकरणले पत्ता लाइदिन सक्छ?

एमडिएमएस प्रणाली लागू भएसँगै अपराध नियन्त्रण पनि हुने अपेक्षा छ। एमडिएमएसमा दर्ता भएका फोनहरू ट्र्याक गर्न सजिलो हुन्छ।

खनालका अनुसार तपाईंलाई फोनको आइएमइआई नम्बर याद छैन, फोन नम्बर मात्रै याद छ भने आफ्नो सेवा प्रदायकलाई निवेदन दिएर सिमको नम्बरबाट सेटको आइएमइआई नम्बर निकाल्न सकिन्छ। प्रहरीलाई पनि हराएको फोन खोज्न मद्दत मिल्छ।

फोन नभेटिएको खण्डमा फोन ब्लक समेत गर्न मिल्छ। यसले गर्दा फोन हराएको व्यक्तिको विवरण बाहिरिनबाट रोक्न सकिन्छ।

कुनै पनि फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ।

यहीँ बजारमा नयाँ फोन किन्नुअघि उक्त फोन एमडिएमएसमा रजिस्टर भएको वा नभएको कसरी पत्ता लगाउने?

यसको लागि पनि एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। किन्न लागेको फोनको आइएमइआई नम्बर राखेर जाँच गर्न सकिन्छ।

मोबाइल फोनको बट्टामा एमपिआइए (मोबाइल फोन इम्पोर्ट्स एसोसिएसन) को स्टिकर हुन्छ जसमा बाहिरै आइएमइआई नम्बर हुन्छ। नभएको खण्डमा थप सचेत भई आइएमइआई नम्बर जाँचेर गरेर मात्रै किन्नुहोस्।

साभार सेतोपाटीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *