सत्य घटनामा आधारित कथा : भावावेशमा तीला कर्णाली

पाँजलो न्युज
१४ भदौ २०७९ १६:२६
सत्य घटनामा आधारित कथा : भावावेशमा तीला कर्णाली

भीमकाय पहाडमा ठोकिएर उनको आवाज निकै लामो समयसम्म प्रतिध्वनित भइरह्यो । तीलाले उक्त आवाजलाई पछ्याउन लागिन् । उनको स्मरणमा अर्की सानी नानी र कुप्री परेकी बुढीआमा समेत देखा परे ।

कोइलीझैं मधुर धुनमा सुसेल्ने तीलाको चाहना सदियौंदेखि दबिएको छ । तीला गहिरिँदै जाँदा खोंच बढ्दै गएसँगै चट्टानबिच उनको स्वर पनि भासिँदै छ । उनी यसमा पटक्कै खुसी छैनन् किनकि अस्वाभाविक भूबनोटले उनको मधुर स्वरमा अप्राकृतिक रिमिक्स गरेको छ । आफ्नै स्वरमा पहिचान स्थापित गर्दै निस्फक्री गाउने उनको चाहनालाई कुण्ठित मात्रै गरेको छैन, उनको एकल गायनलाई प्रतिबन्धित समेत गरेको छ । जसमा उनको गम्भिर असहमति छ ।

०५ गतेको साँझ । खोंचको बिचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । छ्वाप्ल्याङ्ग १ आवाजसहित एउटा वस्तु खस्यो उनको काखमा । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगीतमा अर्को कर्ड थपिएको महसुस भयो र उनी असमञ्जसमा परिन् ।

हठात्, एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई निमेशभरमै दबाइदिइन् । श्रावणको बाढीले सृजित भेलमा । निकै तल पुग्ने गरी । पृष्ठभूमिमा सन्नाटा छाउने गरी ।

जयश्‍वर रिमाल

उनको हतारो हेर्दा लाग्थ्यो कि उनी त्यसैको पर्खाइमा थिइन् । उनी यसरी प्रशिक्षित छिन् कि कसैले नदेख्दै भेलमा दबाइ हाल्नु पर्छ । सायद यो उनको रीत हो । उनी यसैमा रमाउँदै आइरहेकी छिन् ।

तर परिस्थिति भिन्न देखियो । उनी बेचैन भइन् । किनकि तीलामा निर्जीव र सजीवको भेद खुट्याउने क्षमता छ ।

यतिञ्जेलसम्म उनको स्मरणमा त्यो वस्तु चमेलीको जिउँदो शरीर ठहरिसकेको थियो । आँखा चिम्म गर्दै एकछिन सोचमग्न भइन् र आक्रोसित् हुँदै कराउन लागिन्, ‘आज पनि मलाई आरती जगाउन दिएनौ हगि ?’

उनी यत्तिमा रोकिइन् । दबिएको स्वरमा चिच्याउन लागिन्, ‘मेरो इतिहास बिगार्ने तिमीहरू नै हौ, आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि बारबार मलाई पापको भारी बोकाउने ? आफूलाई धर्तीको सर्वश्रेष्ठ प्राणी ठान्छौ तर तिमीहरुको चेतना यही हो त ?’

समग्र मानवजातीलाई उनी बेपर्वाह गाली गर्न लागिन् ।

यसैबिच नेपथ्यमा बालिका च्याँठ्ठिएको आवाज गुञ्जियो । चमेलीकी छोरीको आवाज थियो । भीमकाय पहाडमा ठोकिएर उनको आवाज निकै लामो समयसम्म प्रतिध्वनित भइरह्यो । तीलाले उक्त आवाजलाई पछ्याउन लागिन् । उनको स्मरणमा अर्की सानी नानी र कुप्री परेकी बुढीआमा समेत देखा परे ।

उनमा असह्य पिडाबोध भयो । दुबै हात टाउकोमा राखिन् र बरबराउन लागिन्, ‘हे चमेली मैले थाहा पाएँ कि तिम्रो गोठभरि भोका पशु छन् । कतिबेला आमा आई माम पकाई खुवाउनुहुन्छ भन्ने आशामा दैलो कुरी बसेका तिम्रा लालाबाला पनि छन् । तिमीहरुको भविष्यको सुखको लागि मुगलान पसेका तिम्रा मालिक कहिले दशैं आउला र घरमा फर्किजाउँला भनेर पर्खिरहेका छन् । अधबैंसे उमेरमै श्रीमानले छोडी गएकी तिम्री बुढी सासु आमालाई तिम्रो स्याहारको खाँचो पनि छ ।’

उनी भावुक हुँदै चमेलीलाई सम्झाउन लागिन्, ‘कति बेहोसी भाकी तिमी , तिम्रो घाँसको भारी तिमी हिँड्ने बाटोमा अटाउँदैन भन्ने पनि हेक्का गरिनौ । अनि सुन, म त्यति अकल्पित छैन जति वर्षाको खहरे छ । मेरो स्वर त्यति कर्णप्रिय छैन जसमा तिमी बहकिन सक्छौ । मेरो संगीत त्यति सुमधुर छैन जसमा तिमी बगिरहन सक्छौ । मेरो शब्द त्यति ओझिलो छैन जसले तिमीलाई बहकाउन सक्छ । अनि म यति बिरानो पनि त छैन जसलाई तिमीले आफ्नो स्मरणबाट हटाउन सक्छौ ।’

केही सम्हालिँदै भन्न लागिन्, ‘तिमी मेरो साथमा आइहाल्यौ । अब फर्किन पनि सक्दिनौँ । अरुलाई भने मेरो काखमा नआउनु भन है । म चाहन्छु, मेरो स्वासले कसैलाई नभेटोस् । मेरो कर्कस संगीतले कसैलाई आकर्षित नगरोस् । अनि मेरो बिरक्तिको भाकामा कसैले आनन्द नलियोस् ।’

मलिन आवाजमा यति भन्दै तीला शान्त भइन् । उनको आवाज त्यही कर्कस ध्वनिमा बिलाउँदै गर्दा अघिको त्यो वस्तु चमेलीको मृत शरीर,केही पर बग्दै गरेको देखा पर्यो । यति बेलासम्म नदी किनारामा केही मानिसहरु भेला भइसकेका थिए । सबैको ध्यान शवलाई पाखा लगाउने र रीतपूर्वक नष्ट गर्नमै केन्द्रित रह्यो ।

परिवारमा चमेलीको अभाव त कसले पूर्ति गर्न सक्थ्यो र, फगत आश्वासनका शब्दहरुले घटना प्रभावितको मन शान्त गराउन भने म पनि सामेल भएको थिएँ । साभार  साहित्य पाेष्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *